पत्रकार रजकको हत्यारालाई कारवाहिको माग गर्दै पत्रकार महासंघ दोलखाद्धारा सिडियोलाई ध्यानकर्षण पत्र

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ दोलखा शाखाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकार महासंघ दोलखाले आज दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

गत चैत्र १५ गते काठमाण्डौंमा तिनकुनेमा राजावादीहरुले आयोजना गरेको आन्दोलनमा पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको छ भने विभिन्न संचारमाध्यममा तोडफोड र संचारकर्मीहरु माथी आक्रमण भएको थियो ।

राजावादीहरुको आन्दोलनको नाममा सञ्चारमाध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने, घाईते सञ्चारकर्मीलाई राहत तथा उपचारको बन्दोबस्त, प्रेस माथि बढ्दो आक्रमण रोक्नुपर्ने लगायतका माग सहित दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणपत्र बुझाउँदै पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलले सरकारले एक साताभित्र मागको यथोचित सुनुवाई नभए केन्द्रीय कार्यक्रम अनुसार देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गेलालले घटना हुनु दुःखद् रहेको उल्लेख गर्दै ध्यानाकर्षणपत्र सम्बन्धित निकायमा पठाउने बताउनुभयो ।