
नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको नेतृत्वले आर्थिक अनियमितता लगायत पदको चरम दुरुपयोग गरेको भन्दै प्रेस चौतारी नेपाल दोलखाले ज्ञापनपत्र बुझाएको छ ।
महासङ्घ नेतृत्वले गरेको आर्थिक अनियमितता लगायत अबाञ्छित गतिविधि रोक्न माग गर्दै आईतबार प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतको टोलीले महासङ्घका अध्यक्ष दिपशङ्कर चौलागाँईलाई ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासङ्घ बागमती प्रदेश समितिको जिरीमा सम्पन्न साधारणसभामा व्यवस्थाकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा सङ्कलित आर्थिक श्रोतको संस्थागत अभिलेख नराखी हिसाब सार्वजनिक नगरेको, पत्रकार महासङ्घको नाम जोडेर महासङ्घको बदनाम हुनेगरी अध्यक्ष चौलागाँईले विभिन्न सार्वजनिक निकायबाट व्यक्तिगत रुपमा लाभ लिएको विषयमा पारदर्शी रुपमा हिसाब किताब सार्वजनिक गर्न प्रेस चौतारीले माग गरेको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सहायता कक्षबाट भएको आम्दानीको अनियमितता गरेको, विभिन्न कार्याक्रममा पत्रकार महासङ्घको लोगो र बैंक खाता दुरुपयोग गरेकोे, सरकारी तलब खाने शिक्षक रहेका अध्यक्ष चौलागाँई विद्यालय समयमा विभिन्न कार्यक्रममा उपस्थित हुने र विद्यालयमा समेत हाजिरी गरी गैरजिम्मेवार बनेको विषयमा प्रेस चौतारीले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

कार्यालयमा गैरकानुनी रुपमा कर्मचारी नियुक्त गरी घरेलु कामदारको रुपमा अध्यक्षले निजी काममा लगाएको, कार्यालय समयमा पनि महासङ्घको कार्यालय खुल्ला नराखेको, कार्यालयमा रहनुपर्ने कागजातहरु निजी सम्पत्तिझैं अध्यक्षको घरमा राख्ने गरेको, कार्यालय व्यवस्थित नगरिएको लगायतका विषयमा १६ बुँदे ज्ञापनपत्र बुझाईएको छ ।
ज्ञापनपत्रमा उल्लेखित विषयमा तीन दिनभित्र यथार्थ विवरणसहितको हिसाबकिताब सार्वजनिक नगरे कानुनी कारबाहीसहित कार्यालयमा तालाबन्दीदेखि कडा भन्दा कडा आन्दोलन गर्ने प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले चेतावनी दिनुभएको छ ।
ज्ञापनपत्र बुझ्दै महासङ्घका अध्यक्ष चौलागाँईले प्रेस चौतारीले उठाएका विषयमा कार्यसमितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दोलखा र पत्रकार महासङ्घको बागमती प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई समेत बोधार्थ रहेको ज्ञापनपत्र आईतबार नै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई पनि हस्तान्तरण गरिएको छ ।

