
भीमेश्वर नगरपालिकाको विभिन्न गतिविधीलाई समेटी नेपाल पत्रकार महासङ्घ दोलखाले तयार पारेको ‘भीमेश्वर प्रतिविम्ब’ नामक पुस्तक सार्वजनिक भएको छ ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले चरिकोटमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा भिमेश्वर प्रतिविम्व पुस्तक विमोचन गर्नुभएको हो ।
पुस्तक सार्वजनिक गर्नुहुँदै मन्त्री थापाले जनताले प्रत्यक्ष भेट्ने सरकार नै स्थानीय सरकार भएकोले स्थानीय सरकारका कामको बारेमा पत्रकारहरुले चासोपूर्वक कलम चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेलले स्थानीय सरकारले गरेका कामको प्रभावकारिता मापन र अभिलेखनका लागि महासङ्घले पुस्तक प्रकाशन गरेको बताउनुभयो । पुस्तकमा भीमेश्वर नगरपालिकाले गरेका कामको झलक देखाउने प्रयास गरिएकोले पुस्तकको नाम नै ‘भीमेश्वर प्रतिविम्ब’ राखिएको अध्यक्ष जिरेलको भनाई छ ।
पुस्तकमा नगरपालिकाले गरेको विकास निर्माण र सेवा प्रवाहका विषयमा दर्जन बढी पत्रकारहरुले तयार गरेका अनुसन्धानमूलक लेख तथा फिचरहरु समावेश गरिएको छ । भीमेश्वर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासङ्घ दोलखाले प्रकाशन गरेको पुस्तक पत्रकारद्वय जीवन लामा र शम्भु गौतमले सम्पादन गर्नुभएको हो ।
