नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीद्धारा जानकारी

बन्दक भनिएको नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासलाई सोमवार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँका सेनाले नेपाली विधार्थी जोशी जिवित नरहेको औपचारीक जानकारी गराएका हुन् । हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो ।

उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही दिनअघि सार्वजनिक भएको थियो । हमासले आज आफ्नो कब्जामा रहेका २० जनालाई रेडक्रसका अधिकारी मार्फत् इजरायल समक्ष बुझाएको छ ।

आक्रमण हुनुभन्दा एक महिना अधि मात्र विपिन नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत रहेका थिए ।

सो ठाउँमा कार्यरत १७ जना नेपाली विद्यार्थीहरु मध्ये दश जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । विपिन जोशी भने घाइते भएर अपहरणमा परेका थिए ।