दर्पण संवाददाता
चरिकोट, १६ वैशाख
दोलखा जिल्लामा नै पहिलो पटक सहकारी अभियानको आगामी कार्य दिशा, आर्थिक रुपान्तरणका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ बृहत सहकारी सम्मेलन हुने भएको छ ।
जिल्लाको सदरमुकाम चरिकोटमा वैशाख २७ र २८ गते दुई दिन सहकारी संघ दोलखा र दोलखा वचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा दोलखा बृहत सहकारी सम्मेलन हुन लागेको हो ।
समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय लक्ष्यलाई स्थानीय सहकारीहरुको पहलमा योगदान गर्नका लागि सहकारीको समग्र संस्थागत विकासका साथै उद्यमशीलता मार्फत आर्थिक रुपान्तरणको दीर्घकालीन कार्यदिशा निर्धारण गर्ने मुख्य उदेश्यले दोलखा जिल्लामा सहकारी सम्मेलन गर्न लागिएको सहकारी सम्मेलन मुल आयोजक समितिका संयोजक हेमन्त चौलागाईले बताउनु भयो । सहकारीले आगामी ३ वर्षभित्रमा रोजगारी सिर्जनामा ठोस योगदान पुग्न सक्ने कार्यक्रहरु मध्ये सहकारी आफैंले सञ्चालन गर्न सक्ने र स्थानीय तह संगको संयुक्त पहलमा पालिका स्तरमा सञ्चालन गर्न सकिने नमुना कार्यक्रमहरुको पहिचान गरी त्यस्ता कार्यक्रमको बारेमा छलफल समेत गरिने संयोजक चौलागाइले बताउनु भयो ।
सहकारी सम्मेलनमा विभिन्न क्षेत्रका करिव १७७ ओटा सहकारी सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहकारी संस्था तथा संघहरु, स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार, वित्तीय संस्था, सहकारी उद्यमशीलता सम्बद्ध गैरसरकारी तथा निजी संस्थाहरु गरी सहकारी सम्वन्धी जानकार करिव ४ सय जनाको सहभागिता रहने मुल आयोजक समितीले आइतवार चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीको प्रमुख आतिथ्यमा वैशाख २७ गते चरिकोटमा उद्घाटन हुने कार्य जिल्लाको सहकारी विकास अवस्था, स्थानीय तहको भूमिका र प्रतिवद्धता, दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रको कार्यययोजना, लगाएतको बारेमा पाँच ओटा कार्यक्रत्रहरु प्रस्तुती गरिने कार्यक्रम रहेको छ ।
सम्मेलनको लागि करिव २१ लाख रुपौया लागत लाग्ने आयोजकले जनाएको छ । सम्मेलनलाई व्यवस्थीत बनाउनको लागि हेमन्त चौलागाईको संयोजकत्वमा ४८ सदस्यीय रहने गरि मुल आयोजक समिती, सचिवालय समिती, आर्थीक व्यवस्थापन समिती लगाएतका समितीहरु गठन गरिएको छ ।
