दोलखामा फिल्म छायाङ्कन बढ्दै, शिवानीको ९० प्रतिशत दोलखामै छायाङ्कन

जेष्ठ १५ दोलखा नेपालमा पहिलो फिल्मशिटी निर्माण हुनलागेकोले चर्चा कमाएको दोलखामा अहिले कथानक चलचित्रहरुको छायाङ्कनको क्रम समेत बढेको छ । केहि समय अघिसम्म मुश्किलले दुई तीन बर्षमा एउटा कथानक चलचित्र छायाङ्कन हुने गरेको दोलखामा अहिले बर्षमा दुई तीन वटासम्म चलचित्रको छायाङ्कन हुन थालेका छन् ।

पछिल्लो समय दोलखाको बिभिन्न स्थानमा कथानक चलचित्र शिवानीको छायाङ्कन गरिएको छ । झण्डै ७० र ८० लाखको बजेटमा निर्माण हुन लागेको शिवानीको ९० प्रतिशत छायाङ्कन दोलखाको बिभिन्न ठाउँमा गरिने निर्देशक युपि खड्काले बताए ।

यातायात दुर्घटनामा घाईते भएकालाई कतिपय चालकले नियतवस मार्ने गरेको कथा बस्तु समेटीएको शिवानीको छायाङ्कन दोलखाको सदरमुकाम चरिकोट, धार्मिक पर्यटकीय केन्द्रि कालिञ्चोक, दोलखा भीमेश्वर, तामाकोसी, खरीढुङ्गा, सिमपानी, शैलुङ र सप्तरीको बर्दिवास तथा काठमाडौँको बिभिन्न स्थानमा हुने निर्देशक युपि खड्काले बताए । चलचित्रको मुख्य नायिका पूर्णीमा लामा शिवानी सामाजिक कथा वस्तुमा आधारीत मनोरञ्जनात्मक चलचित्र भएको र यसले दर्शकको मन जित्ने कुरामा आफु विश्वसत रहेको बताईन् ।
सुरज खड्काको ब्यानरमा निर्माण हुन लागेको शिवानी चलचित्रको निर्माता ग्याल्वो पाख्रिन, महेश शाक्य र दिनेशकुमार राय रहेको छन् भने लेखक निर्देशक युपि खड्का रहेका छन् । महेन्द्र थापाको छायाङ्कन र रामजी लामिछानेको कोरियोग्राफीमा निर्माण हुन लागेको शिवानीमा नायक उत्तम विष्ट, नायिका पूर्णीमा लामा र सहनायिका दिपा शिवाकोटी रहेकी छन् । शिवानीको मुख्य भुमिकामा बाल कलाकार शिवानी खड्काले अभिनय गरेकी छन् । चलचित्रमा निर्माता ग्याल्वो पाख्रिनले प्रहरी प्रमुखको भुमिका निभाएका छन् ।
दोलखामा प्राकृतिक एवं धार्मिक पर्यटकीय स्थल रहेको र काठमाडौँबाट नजिक समेत भएकोले चलचित्रको छायाङ्कनको लागि दोलखाको बिभिन्न स्थानलाई रोजिएको निर्देशक युपि खड्काको भनाई छ । शिवानी चलचित्रको प्रर्दशन आगामी असार अन्तिमसम्ममा सदरमुकाम चरिकोटबाटै गरिने निर्माता ग्याल्वो पाख्रिनले बताए ।