दर्पण संवाददाता
चरीकोट, १३ माघ
नेपाल सरकारलाई भारतले उपलब्ध गराएको कोरोना भाइरसको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभाग मार्फत दोलखामा पनि आई पुगेको छ ।
जिल्लामा वागमती प्रदेश अन्र्तगत स्वास्थ्य सेवा विभागले पठाएको २ हजार २ सय ७० डोज खोप आज विहान जिल्लामा आईपुगेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताउनुभयो । जिल्लामा प्राप्त खोप स्वास्थ्य कर्मी, सवारी चालक, सुरक्षाकर्मी संचारकर्मी तथा अग्रपंतीमा काम गनेहरुका लागि पहिलो चरणमा चरिकोट अस्पतालबाट २ हजार १ सय ४० जनालाई र जिरी अस्पतालबाट चार सय जनालाई लगाउने तयारी गरिएको छ । सात गाउँपालिका र दुई नगरपालिका रहेको दोलखामा भिमेश्वर नगरपालिकाको चरिकोट अस्पताल र जिरी नगरपालिकाको जिरी अस्पतालबाट मात्र खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ । बुधबार देखि चरिकोट अस्पतालमा सुरु गरिने खोपमा ७ सय ७७ जना स्वास्थ्यकर्मी, १ हजार २ सय ५५ जना महिला स्वास्थ्य स्वयमसेवीका, ५६ जना सुरक्षाकर्मी, ५२ जना सरसफाइकर्मी तथा सवारी चालकहरुलाई निशुल्क खोप लगाउने तयारी गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो । जिल्लाका दुवै अस्पतालमा खोप तालिम लिएका स्वास्थ्यकर्मीहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने र पहिलो डोज लगाई सकेकाहरुलाई एक महिना पछि पुन दोस्रो डोजको लगाईने जनाइएको छ । गर्भवती सुत्केरी, वच्चालाई दुध चुसाई रहेका र १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरुलाई खोप नलगाइने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ 