दोलखाको मेलुङ गाउँपालिकाले कर्तिक १ र २ गते आलु महोत्सव गर्दै , आलु महोत्सवको तयारी व्यापक

दर्पण संवाददाता
असोज २६ चरिकोट,

दोलखाको मेलुङ गाँउपालिकाले यहि कार्तिक १ र २ गते आलु महोत्सवको आयोजना गर्ने भएको छ । दुई दिन सम्म संचालन हुने महोत्सवको तयारी व्यापक रुपमा भई रहेको गाउँपालिकाले जनाएको छ ।

आधुनिक प्रविधीको प्रयोग गरी उत्पादनमा बृद्धि गरि कृषकहरुको आयस्तर बृद्धि गर्ने उदेश्यले मेलुङ आलु महोत्सव २०७६ को आयोजना गर्न लागिएको मेलुङ गाँउपालिका प्रमुख नरबहादुर श्रेष्ठले बताउनु भयो । कार्तिक १ र २ गते सञ्चालन हुने आलु महोत्सव २०७६ को अवसरमा बिभिन्न सांस्कृतिक झाँकिहरुको प्रर्दशन, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, आलुको बिभिन्न परिकारहरुको स्टल, मौसमी तथा बेमौसमी तरकारीहरुको स्टल र मेलुङ गाँउपालिकाको बिभिन्न ठाँउका तस्विरहरुको प्रर्दशन गरिने वडा अध्यक्ष एवं मेलुङ गाँउपालिकाका प्रवक्ता हिरा थोकरले बताउनु भयो ।

दोलखा जिल्लाकै उत्पादनको राम्रो संभावना रहेको मेलुङ गाउँपालिकाबाट बार्षिक एक करोड भन्दा बढीको आलु उत्पादन र बिक्रि वितरण हुदै आएको छ । मेलुङ गाँउपालिका वडा नम्बर ३ को भुमेस्थान, काडेँ, बाटुले, वडा नम्बर ४ को फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली तथा वडा नम्बर ५ को दुधिले, भङ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिकमात्रामा बर्षे आलु उत्पादन हुने र त्यसको व्यवस्थापन तथा बजारीकरणको लागि आलु महोत्सव महत्वपूर्ण बन्ने गाँउपालिका प्रमुख श्रेष्ठ बताउनु हुन्छ ।

दुई दिनसम्म सञ्चालन हुने आलु महोत्सवले मेलुङ गाँउपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने, प्राङ्गारिक आलु उत्पादनमा टेवा पुग्ने, आलु उत्पादन हुने स्थानहरुमा परम्परागत तथा आधुनिक भण्डारन निर्माणमा सहयोग पुग्ने, सामुहिक खेती प्रणालीको सुरुवात हुने, व्यवसायीक पशुपालन कार्यक्रम प्रवद्धन हुने, आलुको ग्रेडीङ, लेभलिङ र प्याकेजिङमा सहयोग पुग्ने, नीजि, सरकारी र सहकारीको सहयोगमा गाँउपालिका बाहिर समेत बिक्रि केन्द्र स्थापना हुने अपेक्षा गरिएको गाँउपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताउनु भयो ।