बिमला बुढाथोकी
माघ २७ जिलु
नेकपा दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले दोलखाका सात वटै पालिकाका निर्वाचित जनप्रतिनिधिहरु एक ढिका भएको बताउनुभएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा आज आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पोखरेलले नेकपाले जितेको सातै पालिकाका प्रमुख उपप्रमुख एक जना बाहेक १३ जना नै निर्वाचित जनप्रतिनिधिहरु एकै ठाउँमा उभिएको दाबी गर्नुभयो । अध्यक्ष पोखरेलले दुई चार जना अन्त गए पनि अन्य सबैजना संगै रहेको बताउनुभयो । उहाँले भन्नुभयो संविधानमा दुई बर्ष सम्म अविश्वास र प्रस्ताव राख्न नपाउने भनेर नलेखेको भए नेकपाको दाहाल माधव समुहले छ महिना देखिनै पदको लागि लडाँई गर्ने रहेछन् ।
यस्तै कार्यक्रममा बोल्नुहुँदै नेकपाका केन्द्रिय सदस्य भरत बहादुर केसीले केपी ओली सरकारले नै विकास निर्माणको कामलाई तिब्र रुपमा अगाडी बढाएको बताउनु भएको छ ।
नेकपाका केन्द्रिय सदस्य केसीले समृद्धिको सपना केपी ओली सरकारले मात्रै पुरा गर्ने दाबी गनुृभयो । उहाँले ओलीले अघि सार्नुभएको समृद्धिको सपनालाई साकार पार्न नेपाली जनता एक जुट हुनुपर्नेमा जोड दिनुभयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान नेकपाले बोकेका कारण सो लक्ष्य पुरा गर्न अहिले जनताको पक्षमा रहेर काम गरिरहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेकपा जिल्ला कमिटी सदस्य हरीबंश चौलागाँईले हल्लाको पछि नलाग्न जिलुबासीलाई आग्रह गर्नुभयो । उहाँले यही सरकारले नै सबैको सपना पुरा गर्ने भएकाले विचलित नभई एकै ठाउँमा उभिएर साथ दिन अनुरोध समेत गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा भीमेश्वर चार वडा संगठन कमिटीका अध्यक्ष झमक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दोलखाका अध्यक्ष इश्वर चन्द्र पोखरेल, नेकपाका केन्द्रिय सदस्य भरत बहादुर केसी, नेकपा जिल्ला कमिटी सदस्यहरु हरीबंश चौलागाँई, केशब चौलागाँई, बलराम श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ओली पक्षका करिब ५ सय बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा नेकपा दोलखाका अध्यक्ष इश्वर चन्द्र पाखरेलले वडा नम्बर चार जिलुमा पार्टी कार्यालयको उद्घाटन समेत गर्नुभएको थियो ।