थामी समुदायलाई भ्रममा पारेर भोटको राजनीति नगर्न गठबन्धनलाई विनकुमार थामीको चेतावनी

कालिञ्चोक गाउँपालिकाका पूर्व अध्यक्ष विनकुमार थामीले विगतको घट्नालाई जोडेर नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार र आफूविरुद्ध भ्रम फैल्याईएको भन्दै आपत्ति जनाउनुभएको छ ।

केही वर्षअघि आफूमाथि भएको दुर्व्यवहार र आक्रमणको घटनामा एमाले संघीय उम्मेदवार बालकृष्ण शिवाकोटीलाई जोडेर सामाजिक संजालमा गरिएको प्रचार र केही नेताहरुले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले निर्वाचनको बेला थामी समुदायलाई भ्रममा पारेर भोटको राजनीति गर्न सामाजिक संजालमा आधारहीन र भ्रमपूर्ण प्रचार गरिएको स्पष्ट पार्नुभएको छ । जारी विज्ञप्तिमा गठबन्धनका नेताहरुले केही स्थानमा व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी दिएको अभिव्यक्ति प्रतिसमेत आपत्ति जनाउँदै भ्रममा नपर्न आग्रह गरिएको छ ।

केही वर्षअघि कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ मा भएको दुर्व्यवहार र आक्रमणको घटनामा एमाले उम्मेदवार शिवाकोटीलाई जोडेर प्रचार गरिएपछि पूर्व अध्यक्ष थामीले विज्ञप्ति जारी गरेर स्पष्ट पार्नुभएको हो । “पुरानो घट्नालाई लिएर भैरहेको प्रचारबाजी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, विभिन्न विषयलाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई लान्छित र आरोपित गरी भैरहेको प्रचारबाजीप्रति खेद व्यक्त गर्दछु, जारी विज्ञप्तीमा भनिएको छ ।”

केहीदिन अघि जिल्लामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता विशाल खड्काले थामी समुदाय र विनकुमार थामीमाथि दुर्व्यवहार गर्नेहरुलाई भोट मागिरहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति प्रति ईङ्गित गर्दै उहाँले आफ्नो नाम भजाएर थामी समुदायप्रति सहानुभूति राखेजस्तो नाटक गरेर अनैतिक, अराजनीतिक गतिविधि गर्न खोजिएको भन्दै निन्दासमेत गर्नुभएको छ ।
थामी समुदायको हकहित र अधिकारको क्षेत्रमा एमालेले धेरै काम गरिरहेको उल्लेख गर्दै उहाँले एमाले र एमालेका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउन पनि आग्रह गर्नुभएको छ ।