तामाकोशीको शयेर भर्नेको चाप झन बढ्दै, एक साता समय थप गर्न आग्रह

दर्पण संवाददाता
चरिकोट, भाद्र १२, माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको शयेर आवेदन संकलनको लागि समय थप गर्न जिल्ला समन्वय समिति दोलखाले आग्रह गरेको छ ।

समन्वय समितिले शयेर आवेदन गर्नको लागि सात दिनको समय थप गर्न आग्रह गरे संगै माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले धितो पत्र बोर्डलाई अनुरोध गरेको छ । एक साताको लागि शयेर आवेदन थप गर्न धितोपत्र बोर्डलाई पत्रचार गरिएको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रवक्ता डा. गनेश न्यौपानेले बताउनु भयो ।

आयोजना प्रभावित स्थानिय दोलखा जिल्ला बासीको लागि आयोजनाको १० प्रतिशत शयेर साउन १६ गते देखि भाद्र १४ गते सम्मका लागि खुल्ला गरिएको थियो । शयेर हाल्नको लागि धेरै नागरिक बाँकी देखिएको र वैकहरुमा चाप अहिले पनि अत्यधिक देखिएको हुँदा अब दुई दिन मात्र बाँकी रहेको र सो समय पर्याप्त नभएको हुँदा समय थप गर्नको लागि आग्रह गरिएको समन्वय प्रमुख डवल पाण्डेले बताउनु भयो । आग्रह बमोजिम धितोपत्र बोर्डले एक साताको समय थप गरेमा साउन २१ गते सम्म शयेर आवेदन गर्न पाउने छन् ।

हालसम्म १ लाख ५६ हजार दोलखा जिल्लाबासिले सेयरका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट २ अर्ब ६४ करोड बराबरको शेयर संकलन भएको छ ।
धितोपत्र बोर्डले सम्भवतः आयोजनाको आग्रह बमोजिम एक साताको म्याद थप्ने सम्भावना छ । आयोजनाले दोलखा जिल्लावासीका लागि ३० कित्ता देखि अधिकतम तीन सय कित्ताको सिमा राखेर १ अर्व ५ करोड ९० लाख बराबरको सेयर जारी गरेको छ ।