जिरी दोलखा
सगरमाथाको प्रवेशद्वार, नेपालको स्वीट्जरल्याण्ड जस्ता उपनामहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बृत्तमा चर्चित दोलखाको सुन्दर नगरी जिरी नेपालकै आकर्षक पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले जिरी हुँदै सगरमाथाको पहिलोपटक सफल आरोहण गरेपश्चात हजारौं पर्यटकहरुले यहि मार्ग हुँदै सगरमाथाको शिखर चुमिसकेका छन् । बरिष्ठ स्वीस भुगर्भविद टोनी हेगनले भौगोलिक अवस्थाको आधारमा जिरीलाई ज्युरिच सहरसंग तुलना गरेका छन् ।
हिमाली नगरपालिका जिरी प्राकृतिक, धार्मिक र साँस्कृतिक सौन्दर्यताको हिसाबले अत्यन्तै धनि छ । यहाँ झरणा, गुफा, पोखरी, खोलानाला, कोणधारी हरिया बनजंगल साथै अग्ला डाँडाकाँडा देखि सुन्दर उपत्यकाहरु छन् । आर्कषक गुम्बा, छोर्तेन, मठमन्दिर तथा चर्चहरु प्रशस्त रहेका छन जहाँ विभिन्न समयमा ठुलाठुला मेलाहरु लाग्ने गर्दछ । यहाँका आदिबासी जिरेल, शेर्पा, तमाङ, सुनुवारहरुको पृथक कला संस्कृति, भेषभुषा र स्थानीय खाद्यपरिकारहरु छन् जुन जिरीको पर्यटकीय आर्कषणको रुपमा रहेको छ । जिरीका केहि प्रमुख पर्यटकीय गन्तव्यहरुको बारेमा छोटो जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
च्योर्दोङ्ग तथा क्याङसे पोखरी

जिरी उपत्यकाको शिरको रुपमा रहेको च्योर्दोङ्ग डाँडा दृष्यावलोकनको लागि उपर्यूक्त स्थान हो । यहाँबाट नुम्बुर, गौरीशंकर लगायत रोल्वालिङ हिमश्रृंखलाको दर्जनौ हिमालहरुको साथै लामाबगर, कालिन्चोक, शैलुङ्ग, सिन्धुली गढी जस्ता प्रसिद्ध स्थानहरु अवलोकन गर्न सकिन्छ ।
च्योर्दोङ हिन्दु र बौद्ध धर्मालम्वीहरुको साझा तिर्थस्थल पनि हो । यहाँ रहेको महादेवको मन्दिरमा हजारौ त्रिशुलहरु चढाईएको छ । अविर, ध्वजा तथा खादाहरुले मन्दिर सिंगारिएको छ । यस मन्दिरमा पुजाआजा गरेमा रोग व्याधि नलाग्ने, पशु चौपायालाई जंगली जनावरले दुखः नदिने जनविश्वास रहेको छ । बैशाख १ गते नयाँवर्षमा र कार्तिक पुर्णिमा मा यहाँ मेला लाग्ने गर्दछ ।

कसरी पुग्ने : जिरी लिङ्गन बजारबाट करिव ६ घण्टाको उकालो हिडेपछि च्योर्दोङ पुग्न सकिन्छ । च्योर्दोङ पदयात्रामा क्रममा पाईने सुनखरी, लालिगुराँस, चिमाल र ठिंग्रेको घना जंगल र त्यसमा पाईने वन्यजन्तुहरुले यात्रालाई थप मनोरन्जन प्रदान गर्दछन् । पदयात्राको क्रममा सुन्दर क्याङसे पोखरी भेटिन्छ । यो स्थान विश्राम र क्याम्पिङ को लागि उपर्युक्त रहेको छ । यहाँ धुप धुवाँर गरेर उकालो लाग्दा आकाश खुला हुने र पानि नपर्ने जनविश्वास पनि छ । क्याङसे पोखरी सम्म मोटरमा पुग्न पनि सकिन्छ ।
के लाने : करिव ३७०० मिटर उचाईमा रहेकोले न्यानो कपडाहरु (ज्याके, टोपी मफ्लर, जुत्ता) लानुपर्छ । बाटोमा तथा डाँडामा होटलहरु नभएकोले सुख्खा खानेकुराको ९म्चथ ाययम० व्यवस्था गर्नुपर्छ । चौरीगोठहरुमा दुध, मोहि र चुर्पिहरु किन्न पाईन्छ ।
हनुमन्ते

दोलखा जिल्लाको सवै भुभाग एकै ठाँउबाट अवलोकन गर्न सकिने एकमात्र स्थान हनुमन्ते डाँडा हो । यहाँबाट दोलखाको प्रशिद्ध पर्यटकीय स्थलहरु कालिन्चोक भगवती, दोलखा भिमसेन, शैलुङ थुम्का लगायत पुर्वमा नुम्बुर हिमाल देखि पश्चिममा लाङटाङ हिमाल सम्मको हिमशृंखलाहरु देख्न सकिन्छ ।
अग्लो पहराको विचमा हनुमानको हात र खुट्टाको चिन्ह देख्न सकिन्छ । पहराको फेदमा विशाल ओडारमा हनुमन्तेश्वर महादेव अवस्थित छन् । मन्दिर परिसरको चट्टानी भित्ताहरुमा शिवलिङ्ग, गाईको थुन जस्ता अनौठो तर आर्कषक आकृति र बनोटहरु देख्न पाईन्छ । मन्दिरभित्र सानो कुवा छ जसमा रहेको पानि रातो छ । यो पानि छुएमा घर परिवारमा अनिष्ट हुने जनविश्वास छ ।
कसरी पुग्ने : जिरीको प्रबेशद्धार खावाडाँडाबाट करिव ३ घण्टाको पदयात्रामा हनुमन्ते पुग्न सकिन्छ । हनुमन्तेको फेदसम्म मोटरमा पनि पुग्न सकिन्छ । त्यसपछि करिव आधा घण्टामा हनुमन्ते डाँडा ।
के लाने : हनुमन्ते करिव ३०५० मिटरको उचाईमा रहेकोले न्यानो कपडा, जुत्ता, ड्राईफुड एवं पानि बोक्नुर्पछ ।
गुराँसपार्क

ठुलोनागी सामुदायिक वनक्षेत्रको विचमा अवस्थित खुला चौर हो गुराँसपार्क । उक्त चौरको वरीपरि विभिन्न गुराँस प्रजातिको मात्र बाक्लो जंगल रहेको छ । फागुन चैत्रतिर ढकमक्क गुराँस फुल्दा यहाँको बातावरण निकै मनमोहक हुने गर्दछ । पछिल्लो समय यहाँ ठुलो कृतिम पोखरी, ट्रष्टको टहरा, ट्वाईलेट पिकनिक स्पट लगायत अन्य संरचनाहरु पनि निर्माण गरिएको छ । हाईकिङ, पिननिक, क्याम्पिङ, वर्ड वाचिङ र जंगल सफारीको लागि यो स्थान उपर्युक्त छ । यहाँबाट करिव आधा घण्टामा ठुलोनागी पुग्न सकिन्छ । यहाँबाट विभिन्न हिमालहरुको दृष्याअवलोकन गर्न सकिन्छ ।
कसरी पुग्ने : जिरी बजारबाट करिव ३ घण्टामा हाईकिङ मार्फत बुद्धपार्क हुँदै गुराँस पार्क पुगिन्छ । गुराँसपार्क सम्म जिप, बोलेरो जस्ता हलुका सवारी साधनहरु पनि लान सकिन्छ ।
के लाने : गुराँसपार्कमा (२८०० मिटर) केहि न्यानो कपडा लानु पर्छ । पिकनिकको लागि पर्याप्त पुर्वाधारहरु भएपनि क्याम्पिङको लागि भने टेन्ट लानु पर्छ । होटलहरु नभएकोले खानेकुराको व्यवस्था आफैले गर्नुपर्दछ ।
बुद्धपार्क

जिरी बजारबाट मात्र ६ किमि सडक दुरीमा रहेको बुद्धपार्क अहिले जिरी नगरपालिका कै सवैभन्दा वढि पर्यटकहरु भ्रमण गर्ने गन्तव्य मध्येको एक हो । यहाँबाट जिरी उपत्यकाको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । पार्कको विचमा २० फिट अग्लो शाक्यमुनी बुद्धको प्रतिमा स्थापित गरिएको छ । पार्कलाई आर्कषक बनाउन वगैंचा, ध्यानकेन्द्र लगायतका संरचना समेत निर्माण गरिएको छ । थप संरचनाहरु निर्माणका क्रममा छन् ।
कसरी पुग्ने : जिरी बजारबाट अस्तला देविथान हुँदै करिव १ घण्टाको हाईकिङ मार्फत बुद्धपार्क पुग्न सकिन्छ । देविथान सम्म ढलान सिँढी बनाईएको छ । गाडी मार्फत जिरी बजारबाट करिव २० मिनेटमै पुग्न सकिन्छ ।
के लाने : बुद्ध प्रतिमामा फूल चढाउन सकिन्छ । धुप बाल्न सकिन्छ । सामान्य खाजा खानाका लागि बुद्धपार्क नजिक केहि साना होटल तथा पसलहरु पनि छन् ।
स्टोनपार्क

जिरी नगरपालिकाको पूर्वी सिमाना स्यामाको पुम्पामा रहेको स्टोन पार्क निकै आकर्षक र मनमोहक छ । विशाल फाँटमा रहेको सयौं अजंगको चट्टानहरुलाई निकै कलात्मक ढंगबाट सिंगारिएको छ । खिम्ति खोलाको चिसो हावा संगै स्थानीय लोकल माछाको स्वाद र आनन्द लिन सकिने स्टोनर्पाक पिकनिक र मनोरन्जनको लागि उपर्युक्त छ । यहाँ यसै वर्षको बैशाख सम्म गुरु रिम्पुर्छे र भगवान शिवको १०÷१० फिटको प्रतिमा शिलामाथि स्थापना गर्ने र पौडी पोखरी निर्माण हुदैछ ।
कसरी पुग्ने : जिरी बजारबाट करिव २ घण्टामा सडकमार्ग प्रयोग गरि मालि एलुङ हुँदै जान सकिन्छ वा रामेछापको ठोसे सिवालय गर्जाङ्ग हुँदै पनि जान सकिन्छ ।
के लाने : पुम्पाकोटमा होटल लजहरु छन् । यलुङ, गर्जाङ्ग वा सिवालयमा पनि खाना र बस्नको राम्रो व्यवस्था छ ।

लौती झरणा तथा ट्राउट फार्म
करिव ५० मिटर अग्लो लौती झरणा पनि जिरीको प्रमुख आकर्षणको रुपमा रहेको छ । पहिले यस झरणामा लौती भन्ने बनझाँत्री ले नुहाउने गरेको र त्यस वरपर गाईबस्तु हेर्ने थुप्रै बालबालिकाहरुलाई समेत उक्त बनझाँक्रीले लाने र विभिन्न तन्त्रमन्त्र एवं झाँक्री विद्या सिकाई पठाउने गरेकोले यस झरणाको नाम लौती रहेको स्थानीय वुढापाकाका भनाई छ । लौती झरणाकै पानि प्रयोग गरेर अलि तल ठुलो व्यावसायिक ट्राउट माछा फार्म पनि संचालन गरिएको छ । संगै रहेको कलङ्ग चिया बगान र महादेव गुफा लगायत अन्य ससाना छहराहरु एकैसाथ अवलोकन गर्न सकिन्छ ।
कसरी पुग्ने : जिरी मानेडाँडाबाट करिव ३ किमि पक्कि सडक मार्फत यहाँ पुग्न सकिन्छ । हाईकिङको लागि पनि यो रुट राम्रो छ । मानेडाँडाबाट करिव १ घण्टामा पुग्न सकिन्छ ।
के लाने : हाईकिङ गर्दा केहि हलुका खानेकुराहरु लानु राम्रो हुन्छ ।
पाँचपोखरी तथा जटापोखरी

समुन्द्री सतहबाट करिव ४५०० मिटर उचाईमा रहेको पाँचपोखरी तथा जटापोखरी धार्मिक पर्यटनको हिसावले निकै प्रख्यात रहेको छ । जनै पुर्णिमाको अवसरमा यहाँ हजारौं भक्तजनहरुको उपस्थितिमा भव्य मेला लाग्ने गर्दछ । जटापोखरी र पाँचपोखरीको दर्शण गनार्ले चाहेको सन्तान प्राप्त हुने, रोग व्याधी नलाग्ने तथा बालिनाली एवं पशु चौपायामा फलिफाप हुने जनविश्वास छ । खिम्ती खोलाको उद्गम स्थल पाँचपोखरी तथा जटापोखरी पदयात्रा एवं दृष्यावलोकनको लागि पनि यो निकै उत्कृष्ट गन्तव्य हो । बाटामा भेटिने चौरी गाई तथा याक र विभिन्न जडिबुटिहरु अन्य आर्कषणहरु हुन ।
कसरी पुग्ने : जिरी बजारबाट पुम्पा स्टोनर्पाक हुँदै करिव २ दिनको पदयात्रामा पुग्न सकिन्छ । जिरी बजारबाट खहरे सम्म बोलेरो जिप रिर्जभ गरेर पनि जान सकिन्छ । गर्जाङबाट खहरे हुँदै करिव ८ घण्टाको उकालो उक्लेपछि पहिलो दिन मानेडाँडा पुगेर बास बस्नु पर्छ । दोश्रो दिन करिव ४ घण्टाको यात्रामा जटापोखरी पुग्न सकिन्छ । जटापोखरीबाट करिव १ घण्टा ठाडो उकालो चढेपछि पाँच पोखरी पुगिन्छ ।
के लाने : जटापोखरी करिव ४२०० मिटरमा पर्ने भएकोले अध्याधिक चिसो हुन्छ । न्यानो कपडाहरु लानु पर्दछ । मानेडाँडामा बस्नका लागि केहि चौरीगोठहरु छन् । यद्यपी मेलाको बेला अत्याधिक भत्तजनहरुको चाप हुने भएकोले आफ्नै टेन्ट लानु राम्रो हुन्छ । प्रसस्त मात्रामा खानेकुराहरु लानु पर्दछ । दृष्यावलोकनको लागि बसन्त ऋतु र सरद ऋतु उपयुक्र्त हुन्छ ।
राम्बोले कालिदेवी

जिरी नगरपालिका वडा नं. ८ ठुलोपातलको राम्बोले कालिदेवीथान दोलखाको प्रमुख धार्मिक स्थलहरुमध्ये एक हो । कार्तिक शुक्ल पक्षको एकादशी देखि पुर्णिमा सम्म भव्य मेला लाग्ने यस शक्तिपिठमा हजारौंको संख्यामा दोलखा, रामेछाप, ओखलढुङ्गा, काठमाण्डौ लगायतका स्थानहरुबाट भक्तजनहरु मेला भर्न आउने गर्दछन् । देवीको दर्शणले पराक्रम प्राप्त हुने र चिताएको कुरा पुग्ने जनविश्वास छ । यस शक्तिपिठमा भाकल गर्ने र मेलाका अवसरमा हजारौं बोका, कुखुरा तथा परेवाहरु पशुबलि पनि दिने गरिन्छ ।
कसरी पुग्ने : जिरीको प्रवेशद्वार खावाडाँडाबाट करिव १५ मिनेटमा सवारी साधन मार्फत राम्बोले पुग्न सकिन्छ । पैदलयात्रा मार्फत पनि करिव १ घण्टामा पुग्न सकिन्छ ।
के लाने : धार्मिक तिर्थस्थल भएकाले पुजापाठका लागि धुप वत्ति, फुल अक्षता लान सकिन्छ ।
जिरेश्वर महादेव

जिरेश्वर महादेव मन्दिर जिरीको सवैभन्दा नजिकको पर्यटकीय स्थल हो । जिरेश्वर महादेवलाई किसानको देवता पनि भनिन्छ । किम्वदन्ती अनुसार एक जना किसानको एउटा गाई चरणबाट सधै ढिलो आउने र दुध पनि कम दिने गर्दोरहेछ । एक दिन उक्त किसानले पछ्याउदै जाँदा अहिलेको जिरेश्वर मन्दिर रहेको स्थानमा त्यस गाईले दुध चढाउने गरेको देखेपछि उत्खनन् गर्दा महादेव प्रकट भएको जनविश्वास रहेको छ । सानो खोलामाथि विशाल पहराको ओडारमा रहेको यस मन्दिरमा नागको प्रतिमा स्थापना लगायत धेरै अन्य संरचनाहरु समेत निर्माण गरिएको छ । कन्चन पानीको कलकल आवाज र चराचुरुङ्गीहरुको चिरविराहट यहाँको अर्को विशेष्ता रहेको छ । जिरेश्वर महादेवको दर्शण गर्नाले मनोकामना पुरा हुने तथा अन्नपात एवं पशुपंक्षिको फलिफाप हुने धार्मिक विश्वास रहेको छ । नाग पन्चमी र जनै पुर्णिमामा यहाँ ठुलो मेला लाग्ने गर्दछ ।

कसरी पुग्ने : जिरी बजारबाट करिव १० मिनेटमा सवारी साधन मार्फत पुग्न सकिन्छ । हाईकिङको लागि यो निकै उपर्युक्त छ । बजारबाट करीव ३० मिनेटमा पैदलमार्फत यहाँ पुग्न सकिन्छ ।
के लाने : धार्मिक तिर्थस्थल भएकाले पुजापाठका लागि धुप वत्ति, फुल अक्षता, त्रिशुल, भेटि चढाउन सकिन्छ ।
चिज उत्पादन केन्द्र

जिरी बजारको उत्तरतर्फ काप्तिमा याक चिज उद्पादन केन्द्र रहेको छ । नेपालमा नै पहिलो पटक स्वीसहरुले यहाँ चिज उत्पादन सुरु गरेका थिए । यहाँ चिज बनाईरहेको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ साथै आवश्यक परेमा ताजा चिज तथा नौनी घिउ किन्न सकिन्छ । चिज उत्पादन केन्द्र केहि तल ऐतिहासिक ल्वासा गुम्बा छ । यहाँ लामागुरुद्वारा दैनिक पुजापाठ गरिनुका साथै लामा शिक्षाको पढाई पनि हुने गर्दछ ।
कसरी पुग्ने : जिरी बजारबाट करिव आधा घण्टामा यातायात मार्फत पुग्न सकिन्छ । हाईकिङको लागि करिव २ घण्टा लाग्छ ।
के लाने : केहि न्यानो कपडा र गुम्बामा चढाउन प्रसाद एवं दिप प्रज्वलनका सामाग्री लान सकिन्छ ।
सिक्री उपत्यका
आदिबासी जिरेल जातिको प्रमुख उद्गम स्थल सिक्री खोला किनारमा अवस्थित सानो उपत्यका हो । यहाँ जिरेल जातिको कला संस्कृति, भेषभुषा र रहनसहन अवलोकन गर्न सकिन्छ । यहाँ बजुस्थान, आविथान जस्ता जिरेल जातीका देवी देवता तथा धार्मिक मठमन्दिरहरु रहेका छन् । सिक्रीमा जिरेल होमस्टे पनि संचालित छ ।
कसरी पुग्ने : जिरी मानेडाँडाबाट करिव ३० मिनेट ओरालो झरेपछि सिक्री पुगिन्छ । मोटरबाट करिव १५ मिनेटमा पुगिन्छ ।
के लाने : पुजापाठ सामाग्र सहित देविथानहरु जानु राम्रो हुन्छ ।
यलुङ उपत्यका
यलुङ खोलाको तिरमा यस उपत्यका रहेको छ । शेर्पा जातिको बसोबास रहेको यलुङमा शेर्पा जातिको धर्म, संस्कृति र रहनसहन अवलोकन गर्न सकिन्छ । यहाँ भुटानी शैलिको कलाकृति सहितको ठुलो गुम्बा छ र त्यस वरपर स्तुपा, माने लगायत छन् । यलुङ उपत्यकाको उत्तरतर्फ करिव ३०० वर्ष पुरानो सर्वखासा गुम्बा निर्माण भईरहेको छ भने पुर्वतर्फ विशाल चट्टानमा बौद्ध मन्त्र लेखिएको छ । बस्न र खानाको लागि शेर्पा होमस्टेहरु संचालित छन् । यात्राको क्रममा गुफामा अवस्थित हलेश्वर महादेवको दर्शण सकिन्छ ।
कसरी पुग्ने : जिरी बजार बाट करिव २ घण्टाको पदयात्रामा यलुङ पुग्न सकिन्छ । मालिको डाँडा पार गरेपछि यलुङ पुगिन्छ । सवारी साधन मार्फत जिरी बजारबाट करिव १ घण्टामा पुग्न सकिन्छ ।
के लान : विहान बेलुकाको समय केहि चिसो हुने हुनाले केहि न्यानो कपडा र गुम्बामा चढाउन एवं दिप प्रज्वलनका सामाग्री लान सकिन्छ ।
तेन्जिङ हिलारी पार्क

प्रथम सगरमाथा आरोहि तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको सम्झनामा जिरी बजार भन्दा केहि तल पशु विकास फार्म नजिकै यो पार्क स्थापित गरिएको छ । सगरमाथा आरोहणको क्रममा उनिहरु बास बसेको घरलाई घेराबार सहित संरक्षण गरेर पार्क निर्माण गरिएको हो । पार्कको विचमा तेन्जिङ र हिलारीको आकर्षक अर्धकदको शालिक प्रतिस्थापन गरिएको छ ।
कसरी पुग्ने : जिरी बजारबाट दक्षिणतर्फ करिव १५ मिनेटको हिँडाईमा पुगिन्छ । पार्क भन्दा तल रहेको समथर हवाई मैदान तथा छेवैमा रहेको पोखरी पनि निकै आकर्षक रहेको छ ।
टोनी हेगन ईकोलोजिकल पार्क
बरिष्ठ स्वीस भुर्गभविद टोनी हेगनको सम्झनामा गोकुलगंगा सामुदायिक बनक्षेत्रलाई समेटेर यो पार्क निर्माण गरिएको छ । यहाँ विभिन्न प्रजातिका बोटविरुवा, जडिबुटि लगायतलाई संरक्षण गरिएको छ । यस पार्क भित्र ढुंगेश्वरी महादेव, गोकुलेश्वर महादेवको मन्दिर को साथै झरणा र गुफाहरु रहेका छन् । मागे सक्रान्तिको अवसरमा यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । पार्कको शिरमा रमिते डाँडा छ जहाँबाट जिरी बजारको सुन्दर दृष्य अवलोकन गर्न सकिन्छ । पार्कको विचमा टोनी हेगनको शालिक स्थापना गरिएको छ ।
कसरी पुग्ने : जिरी बजारबाट उत्तरतर्फ रहेको यस पार्कमा करिव १५ मिनेटको हाईकिङमा पुग्न सकिन्छ ।
लेखन : केन्द्रज्योति खड्का
फोटोहरु : केन्द्रज्योति खड्का, आषिश भण्डारी, गौतम जिरेल ।
