जिरी नगरपालिकाले ल्यायो ५६ करोड ६९ लाखको बजेट

जिरी संवाददाता : दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ६९ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आज भएको नगरसभामा उपप्रमुख कृष्णमाया बुढाथोकीले आगामी आव २०७९/८० का लागि चालुतर्फ ३५ करोड ५६ लाख अर्थात ६२.७२ प्रतिशत तथा पुँजीगत तर्फ २१ करोड १३ लाख ७८ हजार अर्थात ३७.२८ प्रतिशत बजेट पेश गर्नु भएको हो ।

जिरी नरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि अनुदान, दिगो र वातावरणमैत्री स्थानीय पुर्वधारको विकास, रोजगारीको अवसर सिर्जना गरी स्थानीय अर्थतन्त्रलाई दिगो बनाउने लगायतका कार्यक्रमहरु लाई प्राथमिकतामा समेटिएका छन् ।

कृषि उत्पादनमा वृद्धि, पर्यटन पुर्वधारको विकास, गुणस्तरीय शिक्षाको विकास तथा स्वास्थ्यमा सम्पुर्ण नगरबासीको पहुँच र गुणस्तरीय सार्वजनिक सेवालाई बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष कृष्णमाया बुढाथोकीले जानकारी दिनुभयो ।

नगरबासीलाई आत्मनिर्भर बनाउन उद्यमशिलताको विकास गर्ने, कृषिमा आयमुलक रोगजारी सिर्जना गरी युवा जनशक्तिलाई कृषिपेशामा आर्कषित गर्ने, विदेशबाट फर्किएका जनशक्तिलाई स्थानीय रोगजारी र आर्यआर्जनको व्यवस्था मिलाउने, गुणस्तरीय र सीपमुलक दक्ष जनशक्ति निर्माण गर्ने, नगरका हरेक क्रियाकलापलाई कार्यविधिमैत्री एवं बजेट प्रणालीमा आवद्ध गराई सुशासन कायम गर्ने, सार्वजनिक सेवालाई सर्वसुलभ भरपर्दो र गुणस्तरीय एवं नागरिकमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको नगरप्रमुख मित्र जिरेलले बताउनुभयो ।