चरिकोट, सांगीतिक क्षेत्रमा डा.रणजित कुमार झा एउटा लोकप्रिय नाम वन्दै गई रहेको छ । स्वास्थ्य क्षत्रमा अवद्ध डा.झा आफ्ना केही सुमधुर गीतहरुका कारण दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका छन् । डा. झा ले प्रायः सुगम संगीतमा आधारित गीतहरु गाएर आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् ।
यसैबीच, डा. झाले वडा दशैको अवसरमा आफ्नो स्वरमा दोलखाको पर्यटकीय नगरी जिरी संग सम्वन्धीत एउटा नयाँ गीत सार्वजनिक गरेका छन् । डा.रणजित कुमार झा यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘जिरी शहर‘’ बोलको गीत जिरीको पर्यटन प्रर्वद्धनकोे दृष्टिकोणले महत्वपूर्ण बनेको छ । दोलखाको जिरी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकले आफू कार्यरत शहर जिरीको प्राकृतिक सौन्दर्यलाई आफ्नो यो नयाँ गीतमा चित्रण गरेका छन् । ‘यो गीत जिरी शहर भित्रको मेरो बसाई अनि मन र मस्तिष्कबाट सिर्जित एउटा कोसेली हो, डा. झाले भनेका छन् ।
जिरीलाई नेपालकै स्विटरजल्याण्डको रुपमा चित्रण गरिएको यो गीतमा डा.झाकै संगीत तथा शब्दहरु सुन्न सकिन्छ ।
महाराज थापाले यो गीतमा संगीत संयोजन गरेका छन् । रमेश सेन्चुरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको यो गीतमा सञ्जीव बराइलीको गिटार, भरत बुढामगरको मादल, हेमन्त कान्छाको सारंगी तथा रत्न बिकको बाँसुरी वादन सुन्न सकिन्छ । भुवन केसीको छायांकन तथा निर्देशनमा बनेको गीतको भिडियो निकै आकर्षक बनेको छ । डा.झासहित रञ्जिता लिम्बु तथा मीयून कुमार जिरेललाई फिचर गरिएको यो भिडियोले जिरीको प्राकृतिक सौन्दर्यलाई प्रस्तुत गरेको छ । रामप्रसाद चौधरीको सम्पादन रहेको भिडियोमा कुनाल कुँवरको कलर करेक्सन रहेको छ ।