दर्पण संवाददाता
चरिकोट, जेठ १५
गणतन्त्र दिवसको अवसरमा दोलखाको चरिकोट कारागारमा रहेको ३ जना कैदीवन्दीहरु जेलमुक्त भएका छन् ।
गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत कैद मिनाह गरिने व्यवस्था अनुरुप नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको अवसरमा चरिकोट कारागारमा रहेका ३ जना पुरुष जेल मुक्त भएको चरिकोट कारागारका जेलर नथु शाहले जानकारी दिनु भयो । कैद मिनाह हुनेहरुमा कालिञ्चोक गाउँपालिका–२ बाबरेका खड्गबहादुर बुढाथोकी, त्रियुगा नगरपालिका–२, उदयपुरका ललित चौधरी र राजापुर नगरपालिका वडा नम्वर ३, बर्दियाका लक्ष्मणप्रसाद चौधरी रहेका छन् । उनिहरुलाई १३ औं गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५० प्रतिशत कैद सजाए मिनाह गरेको जेलर नथु शाहले जानकारी दिनु भयो ।
कम्तिमा २ बर्षदेखि बढिमा ५ बर्षसम्म कैद सजाय पाएर ५० प्रतिशत कैद भुक्तान, कारागारमा असल चालचालन देखाएका ति कैदीबन्दीहरुलाई चरिकोट कारागारले बैशाख २६ गते जेलमुक्तीका लागि सिफारिस गरेको थियो ।