चरिकोट अस्पतालको चरम लापर्वाही, जलाउन लागेको लाशमा अर्को लाश भेटियो

चरिकोट, माघ ६

भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ बर्षिय कालुमान थामीको भिरबाट लडेर शनिबार मृत्यु भएको थियो । लडेर मृत्यु भएका थामीको पोष्टमार्टम गर्नुपर्ने भन्दै पोष्टर्माटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको थियो ।
लाश लगेर घाटमा जलाउनको लागि सम्पूर्ण कपडाहरु पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो । झोलामा पनि कपडाहरु होला भनेर खोल्दा नवजात छोराको लाश भेटियो ।
सद्गत् गर्ने विधि सकेर भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीको घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिए पछि मलामीहरु अचम्मीत भएका थिए । ‘दागबत्ती दिन लागेको बेला पोष्टमार्टम गरी सिलाइएको अवस्थाको अर्को शिशुको लाश पनि भेटिए पछि सबैजना मलामीहरु अचम्मीत परे र अस्पालालाई गाली गर्न थाले ।

मलामी गएकाहरु जलाउन लागेको लाशमा अर्को लाश भेटिए पछि केही बेर तनावको स्थिति भएको भिमेश्वर नगरपालिका वडा न १ का वडाअध्यक्ष विरमान थामीले गुनासो गर्नु भयो । वडाध्यक्ष थामीले सो बारे प्रहरीलाई खबर गरे, प्रहरीले बच्चाको लाश बुझेर फेरी अस्पताललाई बुझायो । मृतक थामीको लाश त्यस पछि सद्गत् गरिएको अध्यक्ष थामीले बताउनु भयो ।

माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ बर्षिय कालुमान थामीको लाश माघ ५ गते बिहान करिब ७ बजे भीमेश्वर नगरपालिका–२ को भीरमुनी भेटिए पछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा पोष्टमार्टम गरियो । पोष्टमार्टम पछि प्लाष्टिकमा प्याक गरिएको लाश बुझेर अस्पतालबाटै बाँसमा बाँधी गाडीमा लिएर गएको वडाध्यक्ष थामीले बताए ।

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. क्षमता घिमिरेले थामीको लाश आफैँले पोष्टमार्टम गरेको र पोष्टमार्टम गरेर सिलाए पछि कार्यालय सहायकहरुले अरु काम गरिहाल्छन् भनेर आपूm बाहिर निस्किएको र गल्ती भएको हुन सक्ने उनले बताइन् । प्रहरीले फोन गरेपछि मात्र बच्चाको पनि लाश गएको थाहा पाएको उनले बताइन् ।

बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृत अवस्थामा ४ केजी तौल भएको बच्चा माघ ४ गते शुक्रबार प्रस्तावित चरिकोट अस्पतालमा जन्मेको अस्पतालले जनाएको छ । परिवारले बच्चाको लाश नलगे पछि के कारणले जन्मनु अघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनको लागि बच्चाको पोष्टमार्टम समेत गरिएको अस्पतालले जनाएको छ ।