कोरोना संक्रमित बढे पछि शहरे पाँच दिनका लागि सिल

दर्पण संवाददाता
चरीकोट, ३ जेठ ः दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ५ शहरे आज वेलुका देखि ५ दिन सम्म शिल गर्ने र्निणय भएको छ ।

वडा नम्वर ५ सहरेमा पछिल्लो समय समुदाय स्तरमा व्यापक रुपमा कोरोना संक्रमण फैलदै गए पछि पाँच दिन सम्म वडालाई पुर्ण रुपमा शिल गरिने निर्णय भएको तामाकोशी गाउँपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले बताउनु भयो । पालिकामा हाल सम्म १०४ जना संक्रमित भई सकेका छन् भने वडा नम्वर ५ शहरेमा मात्र ५९ जनामा कोरोना संक्रमण देखा परेको छ । ग्रामिण क्षत्रमा रहेको उक्त वडामा समुदाय स्तरमा कोरोना फैलिएको र थप फैलन सक्ने जोखिमलाई मध्यनजर गरी वडा शिल गरिएको पालिकाले जनाएको छ । अति आवश्यक काम भएमा वडा अध्यक्ष लाई जानकारी गराउन सकिने छ । स्वास्थ्य सम्वन्धी कुनै समस्या परेमा गाउँपालिका स्वास्थ्य शाखा वा वडा अध्यक्षलाई खवर गर्न पालिकाले आग्रह गरेको छ ।

शिल गरिएको समयमा कुनैपनि व्यक्तिहरु घर वाहिर हिडडुल गर्न नहुने, वडाको कुनै पनि स्थान भित्र आवत जावत गर्न नहुने, सरकारी तथा वितिय संस्थाहरु पुर्ण रुपमा वन्द गरिने, औषधी वाहेक सवै पसल वन्द गरिने र निर्माण कार्यहरु बन्द गर्न निदेशन गरिएको छ । जिल्ला वाहिरबाट आएको केहि व्यक्तिहरु गाउँमा विवाह भोज कार्यमा सहभागि भएको र जिल्लामा लकडाउन गर्दा पनि गाउँमा लकडाउनको पालना नहुँदा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । संक्रमित सवै जना होम आइसोलेनमा रहेका छन् । संक्रमितहरुमा सामान्य ज्वरो रुघाखोकी जस्ता लक्षणहरु देखिएको छ ।

दोलखामा पछिल्लो समय तिव्र गतिमा कोरोना संक्रमण फैलिदै गएको छ । जिल्लामा आज सम्म ५५७ जना संक्रमित भई सकेका छन् भने ७ जनाको ज्यान गई सकेको छ । आज मात्र ७७ जना थपिएका छन् भने १५ जना संक्रमण मुक्त भएका छन् ।