
चरीकोट, ११ माघ ः कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय दोलखाबाट हुँदै आएको सेवा प्रवाह पाँच दिनको लागि वन्द गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालय दोलखामा कार्यरत केहि कर्मचारीहरुमा नयाँ भेरीयन्ट सहितको कोरोना ओमिक्रोन देखा परेको र अन्य कर्मचारीहरुमा समेत लक्षण देखा परेको हुँदा कोभिडका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गरी माघ १२ गते देखि १६ गते सम्म पाँच दिनका लागि जिल्ला प्रशासनको इमरजेन्सी वाहेक अन्य सेवा प्रवाह वन्द गरिएको प्रशासकिय अधिकृत औलख बहादुर आलेले बताउनु भयो । कर्मचारीहरु आइसोलेसनमा रहेको र कार्यालयबाट शान्ती सुरक्षा तथा अति आवश्यक सेवा वाहेक सवै सेवा वन्द गरिएको आलेले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले कार्यालयबाट प्रवाह गरिने सेवाहरु लिनका लागि सेवाग्राहीको भिडभाड वडने भन्दै आइतवार देखि मात्र दुई चरणमा सेवा प्रवाह सुरु गरेको थियो । नागरिकता राहदानी तथा सिफारिसको कामहरु गर्नका लागि जिल्लाको नौ स्थानिय तह हरु मध्ये आइतवार मंगलबार र विहिवार जिरी नगरपालिका, तामाकोशी, वैत्येश्वर र गौरिशंकर गाउँपालिकाका सेवाग्राहि तथा सोमवार, बुधवार र शुक्रवार भिमेश्वर शैलुङ मेलुङ र कालिन्चोकका सेवाग्राहिलाई सेवा प्रवाह गर्दै आएको थियो ।
जिल्लामा पछिल्लो समय तिव्र गतिमा संक्रमण फैलिदै गएको छ । आज परिक्षण गरिएको १०६ जना मध्ये ५० जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । हाल जिल्लामा ११७ पुरुष र १०८ महिला गरी २२५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

