कालिन्चोक केवलकार आजबाट पुन संचालनमा

जेन्जी आन्दोलनको बहानामा अराजक अज्ञात व्यक्तिहरुद्वारा तोडफोड भएको कालिन्चोक केवलकार आजबाट संचालनमा आएको छ ।

गत भाद्र २४ गते राति ९ बजेको समयमा अराजक अज्ञात व्यक्तिहरुद्वारा कालिन्चोक कुरीमा रहेको केवलकारको कार्यालयमा प्रवेश गरी कार्यालय र सवारी साधनमा तोडफोड गरेको थियो । तोडफोड पश्चात केवलकारको दुईवटा सिस्टम मध्ये एउटा सिस्टम पुर्ण रुपमा क्षतिग्रस्त भएपछि केवलकार वन्द गरिएको थियो । वन्द गरिएको कालिन्चोक केवलकार प्रविधिक टोलीद्वारा सिस्टम र्ममत तथा सुरक्षा जाँच गरिएपछि आज घटस्थापना देखि संचालनमा आएको कालिन्चोक दर्शन लिमिटेडले जनाएको छ ।

आजबाट सुरु हुने सेवा सँगै नेपालीहरुको महान चार्ड दशैं, तिहार र छठ पर्वमा कालिन्चोक मन्दिर आउने भक्तजनहरूको ओहोरदोहोरमा सहजता आउने अपेक्षा गरिएको छ । ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित कालिन्चोक भगवती मन्दिर नेपालको एक प्रमुख धार्मिक गन्तव्यको रुपमा रहँदै आएको छ । प्राकृतिक शैन्दर्यले भरिएको कालिन्चोक मन्दिरमा प्रत्येक वर्ष हजारौँ दर्शनार्थीहरु कालिन्चोक पुग्ने गरेको छ ।