प्रभु जिरेल
कात्तिक १७
दोलखाको कालिन्चोक मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा पर्याटकहरुको भिड लाग्न थालेको छ ।
शनिवारमात्र मन्दिरमा दर्शन गर्नको लागि हजारौँ दर्शनार्थीहरुको भिड लागेको थियो । मन्दिरमा दर्शन गर्नको लागि काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुली, लगाएतका जिल्लाहरुबाट हजारौँको संख्यामा कालिन्चोक पुगेका थिए ।
दोलखाको सदरमुकाम चरिकोटबाट १७ किमिको सडक यातयातबाट पुग्न सकिने कुरी बजार तथा कालिन्चोक आसपासको क्षेत्र घुम्न आउने पर्याटकहरुको रोजाइको गन्तव्य बन्न थालेको छ । समुन्द्री सतहबाट ३७ सय मिटरको उचाइमा रहेको मन्दिरमा पुग्नेको लागि कालिन्चोक दर्शन प्रालिले मुलुकै तेस्रो केबुलकार समेत शनिबारबाटै संचालनमा ल्याएको छ ।
पर्याटकको चापलाई मध्यनजर गर्दै कुरी बजारमा करोर्डाैँको लागतमा सुविधा सम्पन्न होटलहरु समेत संचालनमा आएका छन् । राजधानीबाट नजिकै रहेको र सुन्दर तथा रमनीय ठाँउहरुको अवलोकन गर्न पाइने हुँदा कालिन्चोक आउने पर्याटकको संख्यामा बृद्धि हुँदै गएको कुरीका होटल व्यवसायीले बताए । यस क्षेत्रमा कात्तिक देखि हिमपात हुने भएको हुँदा पनि राजधानी तथा तराइका जिल्लाबाट हिउँ खेल्न पर्याटकहरु धेरै आउने गरेको छ ।
चरिकोटबाट कुरी पुग्नको लागि १७ किमि सडक स्तोरउन्नती गरी सहज तरिकाले पुग्न सकिने भए पश्चात कुरीबजार चलचित्र छायाँङकनको गन्तव्य समेत बनेको छ । पछिल्लो समय कालिन्चोक क्षेत्रमा सुटिङ गर्न आउनेहरु पनि बाक्लो मात्रमा देख्न सकिन्छ । क्याम फायरिङको मज्जा तथा प्राकृतीक सुन्दरता अवलोकन गर्न यस क्षेत्रमा आउनेहरुको भिड लागेको पाइन्छ ।
कुरी बजारमा सुबिधा सम्पन्न होटलहरु संचालनमा भएता पनि बाहिर बाट आउने पर्याटकहरुलाई होटल व्यवसायीहरुले विभिन्न प्याकेजको बहानामा चर्को शुल्क लिने गरेको एक पर्याटकले बताए ।
३७ सय मिटरको उचाइमा रहेको यस मन्दिर क्षेत्रबाट गोरिशंकर हिमाल, रोल्वालिङ हिमश्रङखला, लगाएत विभिन्न क्षेत्रको अवलोकन गर्नको साथै हिउँ संग समाउन सकिन्छ ।