दोलखा । नेकपा एमाले दोलखाको दुई उपसचिव पदमध्ये एक पदका लागि एमालेका युवा नेता सुन्दर कार्कीले उम्मेद्वारी दिनुभएको छ ।
नेकपा एमाले दोलखाको नवौं अधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका अनुसार शनिबार दिउँसो कार्कीले उपसचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको हो । तामाकोशी गाउँपालिका वडा नम्बर २ झुले स्थायी ठेगाना भई चरिकोटमा व्यवसाय गर्दै आउनुभएका कार्की उम्मेद्वारी दिएका १३ जनामध्ये बलिया प्रतिस्पर्धि मानिनुहुन्छ ।
विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको राजनितिमा संलग्न हुनुभएका कार्की पछिल्लो समय नेकपा एमाले तामाकोशी गाउँपालिका संगठन कमिटीको उपाध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । झुलेमा जन्मिएर जिरीमा आफ्नो अध्ययनलाई अगाडि बढाउनुभएका कार्की चरिकोटमा व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्लाभरी आफ्नो पहिचान स्थापित गराउन सफल हुनुभएको थियो ।
दोलखा उद्योग वाणिज्य संघमा निर्वाचन जितेर एक कार्यकाल अध्यक्ष बनेर काम गर्नुभएका कार्की सफल व्यवसायी तथा सीर्जनशील र जुझारु युवाको रुपमा परिचित हुनुहुन्छ । सालिन, सरल र मिजासिला स्वभावका कार्की एमाले कार्यकर्तादेखि नेतासम्म लोकप्रिय पात्रका रुपमा स्थापित हुनुहुन्छ ।