दर्पण संवाददाता
असार ३०
राष्ट्रिय सहकारी बैंक लिमिटेडले एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ ।
सहकारी बैंकको १६ आँै वार्षिक साधारणसभाको अवसरमा गरिएको घोषणा अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाले गरेको कारोबारको आधारमा उत्कृष्ट कारोबार विद्यामा एकीकृत फ्रेण्डसिप साकोसलाई सम्मान गरिएको सहकारी संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभयो । जिरी नगरपालिका वडा नम्बर ५ स्थित जिरी बजारमा मुख्य कार्यालयको रुपमा स्थापना भएको सहकारीले शाखा कार्यालय दोलखासँग सदस्य सहकारी संघ÷संस्थाले गरेको कारोबारको आधारमा सम्मान गरिएको हो । सम्मान पत्र प्रदान गर्दै जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड दोलखाका प्रमुख हेमन्त चौलागाँईले आगामी दिनहरुमा पनि फ्रेण्डसिप साकोसले अझै उत्कृष्ट र नियमित कारोबार गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
२०४८ सालमा स्थापना भएर आर्थिक कारोबार सुरु गरेको एकीकृत फ्रेण्डसिप सहकारी संस्थाले हाल सम्म १४ ओटा सहकारी संस्थाहरुलाई एकीकरण गर्न सफल भएको छ । अहिले संस्थामा १२ हजार ५ सय भन्दा बढी शेयर सदस्य आबद्ध रहेका छन् भने दोलखा र रामेछाप दुई जिल्लालाई कार्यक्षेत्र बनाई सेवा विस्तार गरेको छ । सहकारी संस्थाले शेयर सदस्यहरुलाई मध्येनजर गर्दै विभिन्न शिर्षकमा ब्याजदर कायम गरी १२ वटा सेवा केन्द्र मार्फत ऋण लगानी गर्दै आएको छ । संस्थाले बचत संकलन, ऋण लगानीसँगै सामाजिक कार्यलाई समेत अघि बढाएको छ । सम्मान पत्र ग्रहण गर्नुहुँदै संस्थाका अध्यक्ष भुमिराज खड्काले संस्थाले प्रदान गर्दै आईरहेको सेवालाई थप व्यवस्थित बनाउँदै अगाडी बढ्ने बताउनुभयो ।