एकीकृत फ्रेण्डसिप सहकारीद्धारा बीमा कार्यक्रम सञ्चालन, तिन सदस्यका परिवारलाई राहत रकम वितरण

दर्पण संवाददाता
जिरी, भदौ २
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक तीन जना शेयर सदस्यहरुलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

संस्थाका सदस्य गोपाल जिरेल, धनिमा जिरेल र आनन्दराम श्रेष्ठ तीन जना सदस्यहरुलाई २ लाख ५७ हजार ५ सय रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरेको संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गोपाल जिरेलले सुरक्षा योजना अन्र्तगतको १ लाख ५० हजार र काजक्रिया खर्च बापतको १० हजार, राहत रकम कोषको ३० हजार गरि १ लाख ९० हजार रकम प्राप्त गर्नुभएको छ ।
जिरेलले सहकारी संस्थाबाट बाख्रा पालनको लागि ऋण लिँदा गत बर्ष असारमा १ लाख ५० हजारको बीमा गराउनुभएको थियो ।

यसैगरी संस्थाका सदस्य धनिमा जिरेल र आनन्दराम श्रेष्ठले सामुहिक म्यादी जीवन बीमा योजना अन्र्तगतको क्रमश ः ३९ हजार र ५८ हजार ५ सय रकम प्राप्त गर्नुभएको छ । रकम हस्तान्तरण गर्नुहुँदै संस्थाका अध्यक्ष भुमिराज खड्काले सहकारीले शेयर सदस्यहरुलाई लक्षित गर्दै विभिन्न बीमाका कार्यक्रम सञ्चालन गरेको र यस्ता प्रकारका कार्यक्रममा सम्पुर्ण सेयर सदस्यहरुलाई जोड्ने लक्ष्य रहेको बताउनुभयो । यस्तै जिरी नगरपालिका वडा–५ का वडा अध्यक्ष ङिमासाङ्गे शेर्पाले एकीकृत फ्रेण्डसिप सहकारी संस्था गरिवहरुको सारथी भएको भनाई व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो सहकारीले लगानी गरेर धेरै युवाहरु व्यवसायी बन्न सफल भएका छन भने केही युवाहरु बैदेशिक रोजगारमा जोडिन सफल भएका छन् । सहकारीले सञ्चालन गरेको प्रत्येक कार्यक्रमले संस्थामा आबद्ध सदस्यहरुलाई राहत मिलेको समेत वडा अध्यक्ष शेर्पाको भनाई छ ।

रकम बुझ्नुहुँदै मृतक गोपाल जिरेलका श्रीमति ज्ञानु जिरेलले इन्स्योरेन्स बापतको रकमले संस्थाको ऋण भुक्तानी हुँदा धेरै खुशी लागेको बताउनुभयो । गत बर्ष बाट आफ्ना शेयर सदस्यहरुलाई मध्येनजर गर्दै सिटिजन लाईफ इन्स्योरेन्ससँग सम्झौता गर्दै बीमाका कार्यक्रम अघि बढाएको एकीकृत फ्रेण्डसिप सहकारी संस्थाले हाल सम्म ४ हजार २ सय ५० जना सदस्यहरुको सामुहिक म्यादी जीवन बीमा गराएको छ भने ३४१ जना सदस्यहरुको सुरक्षा योजना बीमा गराएको छ । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष भुमिराज खड्का, सञ्चलक सदस्य पुष्पा शेर्पा, ऋण उपसमिति सदस्य कुमार जिरेल, वडा नम्बर ५ का वडा अध्यक्ष ङिमासाङ्गे शेर्पा, नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्री, व्यवसाय विभाग प्रमुख निर्मलकुमार कार्की, वरिष्ठ ब्यवसाय सहायक विमला बुढाथोकी, सेवा केन्द्र प्रमुख चोलेन्द्र कार्की लगायत अन्य शेयर सदस्हरुको सहभागिता रहेको थियो ।