नक्सा डिजाइनमा प्राविधिक र परामर्शकर्ताहरुलाई उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धि ३ दिने प्राविधिक तालिम चरिकोटमा सम्पन्न भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिको २५ औ कार्यपालिका बैठकले “उर्जा प्रभावकारी भवन निर्माण स्वीकृति सम्बन्धी कार्यविधि, २०८१” स्वीकृत गरेको छ । भीमेश्वर नगरपालिका क्षेत्रभित्र भवन निर्माण स्वीकृति प्रक्रियामा उर्जा प्रभावकारिता समेत कायम गरी पर्यावरण मैत्री भवन बनाउन इच्छुक घरधनीहरुलाई सहजीकरण गर्न तथा सबै सरकारी तथा सार्वजनिक प्रयोगको भवनहरुमा त्यस्तो प्रविधिको प्रयोगलाई अनिवार्य गरी उदाहरणको रुपमा स्थापित गर्न वाञ्छनीय भएकोले भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको बैठकले यो कार्यविधि पारित गरी लागू गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त कार्यविधि युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित स्वीच एसिया कार्यक्रमको अन्तर्गत बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाको प्राविधिक सहयोगमा मस्यौदा तयार गरेर बिभिन्न चरणको छलफल पश्चात पारित भएको छ ।
उक्त कार्यबिधि कार्यान्वयन गरी अब बन्ने भवनहरुलाई उर्जा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निभाउने प्राविधिकहरुको साथै पालिकामा सूचिकृत भएका परामर्शकर्ताहरुलाई द्यभ्भ्ल् परियोजना र भीमेश्वर नगरपालिकाको संयुक्त आयोजनामा भएको ३ दिने तालिम साउन ४ गते देखि ६ गते सम्म संचालन भएको हो ।

भीमेश्वर नगरपालिकाका मेयर श्री इश्वर नारायण मानन्धरले उद्घाटन सत्रमा यस्ता तालिमहरुले भिमेश्वर नगरपालिकाको भवनहरु स्थानीय जलवायु अनुरुप र यस क्षेत्रको मौलिकता कायम गरी निर्माण हुनुको साथै नेपाल सरकारको सन् २०४५ सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्य बनाउने, सन् २०३० सम्म कम्तिमा पाँच वटा पर्यटकीय गन्तव्यहरुमा कार्बन तटस्थ सुनिश्चित गर्ने जस्ता नेपाल सरकारको प्रतिवद्धता पूरा गर्न समेत सहयोग गर्ने भन्ने आशा लिएको बताउनु भयो ।
यसै गरी नगर उपप्रमुख श्री कमला बस्नेतले समापन सत्रलाई सम्बोधन गर्दै यस तालिमले न्यून कार्वन उत्सर्जन तथा जलवायु अनुकूलनमा जोड दिने गरी भवन निर्माण गरी राष्ट्रिय भवन संहिता थप प्रभावकारी कार्यन्वयनका लागि मद्धत पुग्ने बताउनु भयो । साथै, कार्यबिधिको कार्यान्वयन गर्न नक्सा शाखाका प्राविधिकहरुको साथै पालिकामा सूचिकृत भएका परामर्शकर्ताहरुको बिज्ञताको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
यसै सन्दर्भमा नगरपालिका क्षेत्रभित्र बन्ने र बनेका भवनहरुलाई स्थानीय जलवायु अनुकुल डिजाइन तथा निर्माण गरी भवन भित्र तापिय हिसाबले सुबिधा र सुरक्षा सुनिश्चित गर्नको लागि प्रयोग हुने उर्जा खपतमा कमी ल्याउन मद्धत गर्न यस कार्यबिधिले सहयोग पुर्याउने भन्ने धारणा नगरपालिकाको पूर्वाधार बिकास तथा वातावरण व्यवस्थापन शाखाका प्रमुख ई. सुरेश राउतले बताउनुभयो ।
