दर्पण संवाददाता
चरिकोट ११ भाद्र, पत्रकार उषा तामाङले आवाज नेपाल दोलखाले भुकम्प पछि सञ्चालन गरेको आपतकालिन सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ ।
कालिन्चोक एफएम दोलखामा समाचार प्रमुख तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका (फोनिज) केन्द्रीय सदस्य समेत रहेको तामाङले केन्द्रलाई नगद ५ हजार ११ रुपैया सहित ५ थान पिसका कुर्ता सुरुवाल र स्टेश्नरी सामग्री सहयोग गर्नुभएको हो ।
तामाङले आफ्नो २१ औ जन्मोत्सवको अवसरमा नगद सहित करिव १३ हजार रुपैया बराबरको सहयोग आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीलाई हस्ताण्तरण गर्न भएको छ । उक्त सहयोग ग्रहण गर्नुहुदै अध्यक्ष कार्कीले धन्यवाद सहित जन्मदिनको शुभकामना दिनुभएको थियो । विभिन्न हिंसामा परेका महिला तथा बालिकाको लागी आफ्नो जन्मोत्सवको अवसरमा केहि सहयोग प्रदान गरिएको पत्रकार तामाङले बताउनुभयो । जन्मोत्सवकै अवसरमा नेपाल पत्रकार महासंघ दोलखालाई पनि नगद सहयोग गर्ने उहाँले बताउनुभयो ।
आपतकालिन सेवा केन्द्रमा हाल ३ जना बालबालिका सहित ६ जनाले आश्रय लिइरहेका छन् । भूकम्प पछि सञ्चालनमा आएको आपतकालिन सेवा केन्द्रमा विभिन्न हिंसाबाट पिडित महिला तथा बालिकाहरु बस्ने गर्छन ।
२०६९ साल देखि कालिन्चोक एफएम बाट पत्रकारीता सुरु गरेको तामाङ स्थानिय तथा राष्ट्रिय स्तरका विभिन्न संचार माध्यममा कार्यरत रहदै आउनु भएको छ ।