दर्पण संवाददाता
२३ भाद्र, हराइरहेको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुवरले बताए ।
कुवरका अनुसार घटनास्थलमा ५ जनाको शव भेटिएको छ भने १ जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । घटनास्थलमा ५ जनाको शव भेटिएपनि कसैको शनाखत हुन नसकेको कुँवरले बताए ।
विहानैदेखि बाक्लो कुहिरो लागेकाले दुर्घटना स्थल पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो । हेलिकप्टरमा ७ जना सवार भनिएपनि १ यात्रुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा भेटिएको शवलाइ काठमाण्डौ लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिए ।
हेलिकोप्टरमा क्याप्टेन निश्चल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ ।
गोरखाको सामागाउँबाट शनिबार बिहान ६ः५७ मा उडेको हेलिकोप्टर केही बेरमा सम्पर्क बिहिन भएको थियो । काठमाडौँबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेन सहित ७ जना यात्रु लिएर काठमाडौँका लागि उडेको एयरलाइन्सले जनाएको छ ।