सामुदायिक विकास मञ्च नेपालको तेह्रौँ साधारण सभा सम्पन्न

दर्पण संवाददाता
१७ भाद्र, चरिकोट, खानेपानी तथा सरसफाई क्षेत्रमा सक्रिय रहेको गैर सरकारी संस्था सामुदायिक विकास मञ्च नेपाल दोलखाको तेहौँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजु थापाको अध्यक्षता र जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले गैर सरकारी संस्थाहरु सरकारका सहयोगी निकाय भएकाले दोलखाका सबै समाजमा आउनका लागि आफूले आग्रह गरि रहेको बताउनु भयो । गैससका कामहरुलाई अनुगमन र मूल्यांकन गर्ने पनि आफ्नो जिम्मेवारीमा रहेकोले सबै गैससका कामलाई आफूले निकटबाट नियालीरहेको उहाँले बताउनु भयो । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका प्रमुखहरुको बैठकले गैससलाई हेर्ने भूमिका समान बनाउन आफूले प्रयत्न गरिरहेको र हरेक ३÷३ महिनामा प्रगति विवरण लिने निर्णय भईसकेको जानकारी प्र्रमुख पाण्डेले दिनुभयो ।

संस्थाको बार्षिक प्रगति विवरण सचिव अर्जुन कार्कीले प्रस्तुतगर्दै दोलखाका अधिकांश गाउँहरुमा सामुदायिक धारा निर्माण, एक घर एकधारा निर्माण, विद्यालयहरुमा खानेपानी तथा सरसफाईका गतिविधिहरु सञ्चालन भैरहेको जानकारी दिनुभयो । संस्थाले यस आर्थिक बर्षमा गरेको आर्थिक कारोवारको बारेमा कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी गराउनु भएको थियो ।