राज्य चूप लागेर बस्न मिल्दैन : नेपाल

११ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।” नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ आइपुग्नुभएको हो ।

डा सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उहाँले बताउनुभयो । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उहाँले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिनुभयो । उहाँले थप्नुभयो, “असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ ।” नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्र्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्नेे बताउनुभयो ।

“नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हँुदैन”, नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताउनुभयो । उहाँले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिनुुभयो । पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिनुभयो । उहाँले पार्टी स्थापना भएको दिन अप्रिल २२(आगामी वैशाख) सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभयो । (रासस)