भदौ ६ गते दोलखा सदरमुकाम चरिकोटमा दोलखा लगायत बिभिन्न सात जिल्लाको लाखेनाच प्रर्दशन गरिने भएको छ ।
लालिगुरा युवा कल्व चरिकोटको आयोजना र भिमेश्वर नगरपालिकाको सहयोग तथा विभिन्न संघ संस्थाको समन्वयमा प्रर्दशन गर्न लागिएको हो । दोलखा चरिकोट लगाएत विभिन्न ठाउको लाखे चरिकोटमा उपस्थित भई प्रर्दशन गर्न लागिएको लालिगुरास युवा कल्वका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।
लालिगुँरास युवा क्लबले चरिकोट गुठीको सहकार्यमा प्रत्येक बर्ष गठेमङ्गलदेखी कृष्ण जन्माष्टमीको भोलीपल्टसम्म चरिकोट बजारमा लाखेनाच प्रर्दशन गर्दै आएको छ । झण्डै डेढसय बर्ष अघि चरिकोट पुरानो बजारमा नेवार समुुदायको वसोबास सुरु भएपछि बिभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर झण्डै ६५ बर्ष अघिदेखी सुरु भएको लाखेनाचले सदरमुकामको रौनक बढाएको उल्लेख गर्दै सांस्कृतिक विकास र जात्रा– पर्वहरुको संरक्षण, प्रवद्धनमा नगरपालिकाले सहयोग गर्ने बताए ।
चरिकोटमा आयोजना गरीएको लाखे प्रर्दशनीमा दोलखा जिल्लाको विभिन्न ठाउँ सहित रामेछापको भंगेरी, चिसापानी र मन्थली, सुनसरीको धरान, काठमाडौँको मच्छेगाँउ, ललितपुरको पाटन, नुवाकोट र ओखलढुुङ्गाबाट समेत प्रर्दशनको लागि लाखेनाच आउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
लाललिगुरा युवा क्लबले चरिकोटमा प्रर्दशन गरिने लाखेनाचलाई जिल्लाको जिरी, मैनापोखरी, किर्नेटार, मागादेउराली, सिंगटी, काठमाडौँको मच्छेगाँउ र चितवनमा समेत प्रर्दशनको लागि लगेको र सोहि क्रममा यो बर्ष अन्य जिल्लाको लाखेनाच समेत चरिकोटमा प्रर्दशनको लागि ल्याउने कार्यक्रम बनेको क्लबका सचिव बिपिन श्रेष्ठले बताए ।
शुक्रवार क्लबले पत्रकार सम्मेलनको आयोजना गरी भदौ ६ गते प्रर्दशनको लागि जिल्लाबाट ऐतिहासीक दोलखा सहर र जिरीको लाखे समेत चरिकोट आउने जानकारी गरेको छ । चरिकोटमा बिभिन्न जिल्लाको लाखेनाच प्रर्दशन गर्दा सांस्कृतिक आदान– प्रदानसंगै सदरमुकामको आर्थिक विकासमा समेत टेवा पुुग्न सक्ने आयेजकले जनाएको छ ।