दोलखा महोत्सवको आयव्यव – संघ डेढ लाख घाटामा, संचालकलाई साढे ४ लाखको पोषक, होटल तथा खानामा ११ लाख खर्च

चरीकोट,
दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको दोलखा महोत्सवको आम्दानी तथा खर्चको विवरण आज सार्वजनिक गरेको छ । महोत्सव सम्पन्न भएको करिव ६ महिना पछि आज पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ दोलखाले महोत्सवको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो । दोलखा उद्योग वाणिज्य संघले गत पुष १३ गते देखि २२ गते सम्म चरिकोटमा वृहत दोलखा महोत्सवको आयोजना गरेको थियो । महोत्सवको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले चरिकोट स्थित टुडिखेलमा महोत्सवको उद्घाटन गर्नु भएको थियो ।
आम्दानी तथा खर्च
दोलखा उद्योग वाणिज्य संघले संघको कार्यलयमा आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको प्रतिवेदन अनुसार महोत्सव अवधीमा करिव ५ करोड वरावरको कारोवार भएको जनाएको छ । महोत्सव संचालनको लागि ४२ लाख ८३ हजार वरावरको कारोवार गरेको उद्योग वाणिज्य संघ करिव डेढ लाख घाटामा गएको प्रतिवेदन संघले सार्वजनिक गरेको छ । महोत्सव संचालन वापत विभिन्न स्थानीय तह तथा संघ संस्था व्यक्ति मार्फत ४० लाख ८३ हजार ८ सय १२ रुपैँया आम्दानी भएको छ भने ४२ लाख ३८ हजार ४ सय ४४ रुपैयाँ खर्च भएको र १ लाख ५४ हजार ६ सय ३२ रुपैयाँ घाटा लागेको जनाएको छ ।

अतिथी सत्कार खाना तथा स्वयमसेवक खर्च
महोत्सव अवधीभर संघले अतिथी स्वागत सत्कार खाना तथा खाजा स्वयमसेवक लगाएतको शिर्षकमा ठुलो रकम खर्च गरेको पाइन्छ । अतिथी स्वागत तथा सत्कारमा ७ लाख ३२ हजार ३ सय १३ रुपैयाँ, क्यान्टीन व्यवस्थापनमा ३ लाख ६ हजार ८ सय ४८ रुपैयाँ स्वयमसेवक खाना तथा खाजामा १ लाख ७ हजार ८ सय ६६ रुपैयाँ गरी होटल खाना तथा खाजामा ११ लाख ४७ हजार खर्च भएको छ । त्यस्तै संघका संचालक तथा कर्मचारीको लागि ४ लाख ४० हजार ९ सय ९९ रुपैयाँको पोषक खरिद गरिएको छ । संचारकर्मीहरुको जिज्ञासालाई सम्वोधन गर्नुहुँदै संघका महासचिव सुरेस उप्रेतीले खर्चको विवरण यथार्थ रहेको स्वागत सत्कारका लागि होटलहरुमा खर्च भएको र संघका संचालकहरु तथा कर्मचारीको पोषक ४ लाख ४० हजारको खरिद गरिएको बताउनुहुँदै अझै केहि रकम भुक्तानीको लागि वाँकी रहेको उल्लेख गर्नु भयो । महोत्सवमा प्रचारप्रसारको लागि ५ लाख ८ सय ८३ रुपैयाँ, छपाईमा, ४ लाख ८८ हजार ८ सय २० रुपैयाँ, बजार सरसफाईको लागि २९ हजार ३ सय ६२ रुपैयाँ, पोषक खर्च ४ लाख ४० हजार ९ सय ९९ रुपैयाँ, कार्यलय खर्च तथा उपकरण १५ हजार ६ सय ४९ रुपैयाँ, अतिथी स्वागत सत्कार ७ लाख ३२ हजार ३ सय १३ रुपैयाँ, स्टेशनरी १४ हजार ६ सय ८५ रुपैयाँ, थप कार्यलय खर्च ३ लाख ७८ हजार ८ सय ८० रुपैयाँ, यातयात र इन्धन ३ लाख ७० हजार ६ सय २७ रुपैयाँ, कार्यलय र्ममत सम्भार ५८ हजार ९२ रुपैयाँ, अन्य ५१ हजार ५ सय २५ रुपैयाँ, मञ्च व्यवस्थापन १७ हजार ४ सय ३५ रुपैयाँ, क्यान्टीन व्यवस्थापन ३ लाख ६ हजार ८ सय ४८ रुपैयाँ, स्वयमसेवक खाना खर्च १ लाख ७ हजार ८ सय ६६ रुपैयाँ, झाँकी प्रर्दशनी १ लाख ८२ हजार, फुलमाला तथा मायाको चिनो १ लाख ४२ हजार ३ सय, स्वयमसेवक खर्च ३ लाख २३ हजार २ सय २० रुपैयाँ र कार्यलय संचालन ५ हजार गरी ४२ लाख ३८ हजार ४ सय ४४ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै आम्दानी तर्फ स्टल विक्री बाट १२ लाख ५० हजार, भिमेश्वर नगरपालिका ३ लाख ४५ हजार, जिरी नगरपालिका ९५ हजार १ सय ४८ रुपैयाँ, विगु गाउँपालिका २ लाख ९६ हजार १७ रुपैयाँ, कालिन्चोक गाउँपालिका १ लाख ४८ हजार, गौरिशंकर गाउँपालिका १ लाख ३९ हजार ८ सय ७० रुपैया, शैलुङ गाउँपालिका ४५ हजार २ सय रुपैया, वैतेश्वर गाउँपालिका २ लाख ९५ हजार ३ सय ७३ रुपैयाँ, सिन्धु विकास वैक बाट २ लाख रुपैया तथा विभिन्न संघ संस्थाहरु हिम पर्वत हाइडोपावर बाट १ लाख ५० हजार तथा विभिन्न व्यक्तिहरुबाट गरी ४० लाख ८३ हजार ८ सय १२ रुपैयाँ आम्दानी भएको छ । महोत्सवमा केहि संघ संस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए पनि रकम प्राप्त नभएको र अझै संकलन हुने सम्भावना रहेको महासचिव उप्रेतीेले बताए ।