दोलखाको गौरीशंकर गाउँपालिकाको १६ औँ गाउँ अधिवेशन आइतवार सम्पन्न भएको छ ।
गौरीशंकर गाउँपालिकाको कार्यालय सुरीमा आइतवार भएको अधिवेशनले पालिकाको हाल सम्मको अर्धवार्षिक समिक्षा गरेको छ । चालु आर्थिक वर्षमा सञ्चालन भई रहेको केहि कार्यक्रम तथा बजेटको समेत संशोधन गरेको छ ।
पलिकाले चालु आर्थिक वर्षमा ६३ करोड २२ लाख ४४ हजार बराबरको बजेट ल्याएको थियो । पालिकाले हाल सम्म ६ महिनाको अवधिमा कुल २५ दशमलव ७८ प्रतिशत मात्र बजेट खर्च गरेको छ । पालिकाका उपाध्यक्ष उमा लुंगेली मगर शेर्पाले चालु वर्षको हालसम्मको आय व्यय विवरण र कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले चालु आर्थिक वर्ष को हालसम्मको प्रगति तथा योजना कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
पालिकाले बालवालिका विकास ऐन समेत बनाएको छ । गाउँपालिकामा रहेका घरपरिवार विहीन बालवालिकाको व्यवस्थापन सम्बन्धी बालवालिका विकास ऐन आजको गाउँसभामा पारित भएको हो । ऐनमा घरपरिवार विहीन वालवालिकालाई दिने सुविधा, वैकल्पिक हेरचाहका लागि अध्ययन र सिफारिस लगायतका विषयमा समिति समेत गठन गरिएको छ । गाउँसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।