गौरिशंकर बालगृहमा रहेका बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

दर्पण संवाददाता
चरिकोट, भाद्र २९, दोलखाको गौरिशंकर बाल गृहमा रहेको अनाथ बालबालिकाहरुको बाल दिवसको अबसरमा आज निशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

दोलखा सामुदायिक अस्पतालले आज गौरिशंकर बाल गृहमानै पुगेर अनाथ बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको अस्पतालका संचालक अमृत बहादुर बुढाथोकीले बताउनु भयो । बाल दिवसको अबसरमा आज गौरिशंकर बालगृहमा रहेका २४ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । परिक्षण गरिएका २४ जना बालबालिका मध्ये अधिकांश बालबालिकामा छाला सम्बन्धी समस्या देखिएको एमडिजिपी डा. आमोद बस्न्यातले बताउनु भयो । बालबालिकामा पौष्ट्रिक खाना, पानी र चिसोका कारण छाला सम्बन्धी समस्या देखा परेको डा. बस्न्यातले बताउनु भयो । विरामी बालबालिकालाई स्वास्थ्य परिक्षण गरि दोलखा सामुदायिक अस्पतालले निशुल्क औषधी वितरण गरेको छ ।

बालदिवसकै अबसरमा भिमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केशी, जिल्ला न्यायधिश कमल राज बिष्ट, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक लगाएतको उपस्थीतिमा भिमेश्वर नगरपालिकाले अनाथ बालबालिकालाई कपडा र फलफुल वितरण गरेको छ भने सामुदायिक अस्पतालले खाद्यान्नका सामग्री सहयोग गरेको छ ।

२०५३ साल कातिकमा तत्कालिन कार्यवाहक प्रधानमन्त्री बलबहादुर राई ज्यूबाट उद्घाटन पश्चात संचालनमा आएको गौरिशंकर बालगृहमा अहिले २४ जना अनाथ बालबालिका बस्दै आएका छन् । नेदरल्यान्डस चाइल्ड वइलफेयर अर्गनाइजेसनले निर्माण गरि दिएको बालगृह हाल बाल संगठनले संचालन गर्दै आएको छ । ०५३ देखि ५८ सम्म लाग्ने सवै खर्च नेदरल्यान्डस चाइल्ड वइलफेयर अर्गनाइजेसनले ब्यहोरेको र हाल उक्त संस्थाले सहयोग गर्न छाडे पछि संचालनमा समस्या भएको बाल संगठन दोलखाका अध्यक्ष राकेश श्रेष्ठले बताउनु भयो । बाल गृह संचालनको लागि हाल बिभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।