करको अनावश्यक हल्लाको पछाडि नलाग्न वडाध्यक्ष चौँलागाईको आग्रह

दर्पण संवाददाता,

२४ भाद्र,चरिकोट, भीमेश्वर नगरपालिकाले अनावश्यक कर नबढाएको र यो हल्लाको पछाडि नलागी वास्तविकता बुझ्न सबैलाई भिमेश्वर नगरपालिका वडा न ४ का वडा अध्यक्ष हरिवंश चौलागाईले आग्रह गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भीनपा ४ जिलूले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईले यस्तो आग्रह गर्नु भएको हो । नेकपाको संरचना तल्लो तह सम्म नपुगेको अवस्थामा पार्टी गतिविधि र निर्वाचित वडा समितिको भूमिकालाई सशक्त बनाउन भेला राखिएको पूर्व एमाले वडा कमिटि अध्यक्ष झमक बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमपूर्व एमाले र पूर्व एमाओवादीको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

भेलाले समसामयिक राजनीतिक बिषयमा छलफल, समग्र जिलू विकास योजनाको बिश्लेषण, पार्टी एकीकरण पछिका संगठन विस्तारको अवस्था, दीर्घकालीन विकासको योजना निर्माण, करको अनावश्यक हल्लाको स्पष्टीकरण लगायतका बिषयमा छलफल गरिएको नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य एवं वडा अध्यक्ष हरिवंश चौलागाईले जानकारी दिनुभयो ।

साथै वहाँले भीमेश्वर नगरपालिकाले अनावश्यक कर नबढाएको र यो हल्लाको पछाडि नलागी वास्तविकता बुझ्न सबैलाई आग्रह गर्नुभयो ।

भेलाले निर्वाचित जनप्रतिनिधिले गरेको कामको प्रशंशा गर्दै अझ बढी जनमुखी कामहरु पारदर्शी ढंगले गर्दै लैजान सुझाव दिएको र नेकपाका गतिविधिलाई वडामा सशक्त ढंगले लैजान वृहत योजना निर्माण गरिएको आयोजकले जनाएको छ ।